केहिमा फस्दैछु, ओर्लदैछु कि उक्लदैछु थाहा छैन
बेला बेलामा ठक्कर खान्छु केसंग र किन थाहा छैन
पोल्छ झनन्न अनि याद आउछ कि म छु |
गति सिमित गर्न खोज्छु तर सक्दिन
किन रोक्न खोजिरहेकोछु आफैलाई ज्ञात छैन
यति थाहा छ कि यो गतिमा नराम्रो ठक्कर खानेछु फेरी पनि
अनि के?
दुख्ने त आफैलाई हो!
अरुलाई हेर्छु अरु पनि झर्दै छन्
कोहि उक्लदै पनि छन् कोहि यसै अल्झिएका पनि छन्,
आफ्नै इच्छालेझैँ
म बाहेक सबैलाई थाहा भएझैँ
“अब के?” भनेर |
म उनीहरुलाई हेर्छु र सिको गर्छु
म झर्दै छु र किन झर्दै छु थाहा पाए जस्तै
यो कहाँ र के हो सबै धेरै अगाडी बुझे जस्तै
घरि घरि आफैंले आफैंलाई गालि गर्छु
दुखाउछु, कराउछु,
आफैंले मात्र सुन्नेगरि चिच्याउछु
‘किन बुझ्दैनौ’ भन्दै
अनि एक्छिन रुन्छु,
आखिर नहुनु नै ठिक |
अनि फेरी सिको गर्छु
सबै बुझेझैँ, केहि नयाँ गर्न लागेझैं
अब के र कहाँ, सबै थाहा भएझैं
अनि फेरी ठक्कर खान्छु अनि सम्झिन्छु कि म छु
अनि फेरी भक्कानिएर रुन्छु
अनि फेरी…